बारबर्दिया नगरपालिका लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको मध्य भागमा अवस्थित स्थानीय तह हो। नेपाल सरकारको मिति २०७३ फागुन २७ गतेको निर्णयअनुसार साविकका बनियाभार, पदनाहा, मगरागढी र धधवार गाविस समेटी यस नगरपालिकाको स्थापना भएको हो। २२६.०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा ११ वटा वडा रहेका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको कुल जनसङ्ख्या ७२,५३३ र घरधुरी सङ्ख्या १६,८९७ रहेको छ। कृषि, पशुपालन, उद्योग, पर्यटन तथा प्राकृतिक स्रोतको विकास मार्फत समृद्ध नगरपालिका निर्माण गर्ने लक्ष्यका साथ नगरपालिकाले स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा कार्य गर्दै आएको छ।